हिमालका नायक : जसले असम्भवलाई सम्भव बनायो, अन्ततः हिमालमै अस्ताए

“ब्रड पिक, म तिमीसँग केवल एउटा प्रार्थना गर्छु-मलाई सुरक्षित रूपमा शिखरसम्म पुग्न र फेरि सुरक्षित रूपमा फर्किन देऊ।”

२०८३ साउन १७,
दीक्षा राई, काठमाडौँ ।

“निर्मल,आमा बाऊ स्यहार्न गार्हो हुन्छ भनेर हिमालमै मर्न हिडेको हो ?” विश्व कीर्तिमानी अभियानमा निस्कनुअघि आमा पूर्णकुमारी पुर्जाले सोध्नुभएको यो प्रश्नले निर्मल पुर्जालाई त्यतिबेलै भावुक बनाएको थियो। उनले त्यो प्रश्नलाई हाँसेर टार्ने प्रयास गरे, तर आज त्यही वाक्यले लाखौँ नेपालीको मन भक्कानिएको छ।

पाकिस्तानको ब्रोड पीक क्षेत्रमा आएको हिमपहिरोमा परी विश्वप्रसिद्ध पर्वतारोही निर्मल पुर्जा ‘निम्स दाई’ सहित पूर्ण बहादुर गुरुङ, निमा शेर्पा, किली पेम्बा शेर्पा, ग्याल्जेन (ग्यालु) शेर्पा र नोवाङ थिन्डु शेर्पा गरी छ जना नेपाली र चार विदेशी आरोहीको निधन भएको छ।

ब्रोड पीक क्षेत्रमा अस्ताएका ६ नेपाली
सामान्य परिवारबाट विश्वको शिखरसम्म

वि.सं. २०४० साल, साउन ९ गते म्याग्दीमा जन्मिएका निर्मल पुर्जा सामान्य परिवारमा हुर्किएका थिए। आर्थिक अभावका बीच बाल्यकाल बिताएका उनी पछि बेलायती गोर्खा सेनामा भर्ती भए। त्यसपछि विश्वकै कठिन विशेष फौज मानिने Special Boat Service (SBS) मा छनोट हुने पहिलो गोर्खामध्ये एक बने।

तर उनको जीवनको वास्तविक परिचय सैनिकभन्दा पनि पर्वतारोहण बन्यो।

जसले ‘असम्भव’लाई चुनौती दिए

२०७५ सालमा निर्मल पुर्जाले Project Possible सुरु गरे। लक्ष्य थियो-विश्वका ८ हजार मिटरभन्दा अग्ला सबै १४ हिमाल सात महिनाभित्र आरोहण गर्ने।

त्यो लक्ष्यलाई धेरैले असम्भव भनेका थिए।

तर उनले केवल ६ महिना ६ दिनमै सबै १४ वटा आठहजारे हिमाल आरोहण गरेर विश्व कीर्तिमान बनाए। त्यस उपलब्धिले विश्व पर्वतारोहणको इतिहासमा नयाँ अध्याय थप्यो।

त्यसपछि २०७७ सालमा उनले सम्पूर्ण नेपाली टोलीको नेतृत्व गर्दै इतिहासमै पहिलो पटक हिउँदमा के–टु हिमाल सफलतापूर्वक आरोहण गराए। शिखरमा नेपाली राष्ट्रिय गान गुञ्जिएको त्यो क्षण विश्व पर्वतारोहणकै ऐतिहासिक घटनामध्ये एक बन्यो।

उनको प्रेरणादायी यात्रा Beyond Possible पुस्तक र नेटफ्लिक्सको चर्चित डकुमेन्ट्री 14 Peaks: Nothing Is Impossible मार्फत विश्वभर पुगेको थियो।

निर्मल पुर्जाको जीवनको सबैभन्दा भावुक अध्याय भने उनकी आमा पूर्णकुमारी पुर्जासँग जोडिएको थियो।

विश्व कीर्तिमानी अभियानमा निस्कनुअघि आमाले सोध्नुभएको प्रश्न –

“निर्मल आमा बाऊ स्यहार्न गार्हो हुन्छ भनेर हिमालमै मर्न हिडेको हो ?”

निर्मल पुर्जा र उनकी आमा पुर्णकुमरी पुर्जा

यो प्रश्नले निर्मललाई गहिरो रूपमा छोएको थियो। अभियान पूरा गरे, विश्व कीर्तिमान बनाए, तर केही समयपछि आमालाई नयाँ घरमा राख्ने सपना बोकेर नेपाल फर्कँदा विमानस्थलमै आमाको निधनको खबर सुन्नुपरेको थियो। यो घटना उनले आफ्ना संस्मरणमा पनि उल्लेख गरेका छन्।

‘मिसन बदलियो, कम्पास भने अडिग छ’

ब्रड पिक अभियानअघि उनले सामाजिक सञ्जालमा लामो स्टाटस लेखेका थिए, जुन अहिले उनको अन्तिम सार्वजनिक सन्देश बनेको छ। स्टाटसको सुरुमै उनले लेखेका थिए-

“मिसन बदलियो। कम्पास भने अडिग छ।”

जी–टु (Gasherbrum II) आरोहणका लागि पाकिस्तान पुगेका उनले त्यही यात्रामा ब्रड पिक पनि आरोहण गर्ने निर्णय गरेका थिए। त्यसो गर्न सफल भए अक्सिजनबिना संसारका सबै १४ वटा आठहजारे हिमाल दोस्रोपटक आरोहण गर्ने इतिहास बनाउन उनी केवल चो ओयुबाट टाढा रहने थिए। त्यही स्टाटसमा उनले लेखेका थिए-

“मैले कहिल्यै अरूसँग प्रतिस्पर्धा गरिनँ। मेरो एकमात्र प्रतिस्पर्धा हिजोको मसँग थियो।”

आलोचना, चुनौती र जोखिमबीच पनि आफू लक्ष्यबाट विचलित नभएको उल्लेख गर्दै उनले आफ्ना समर्थक र आलोचक दुवैप्रति धन्यवाद व्यक्त गरेका थिए।

ब्रड पिकसँग गरेको अन्तिम प्रार्थना

स्टाटसको अन्तिम अंश अहिले सबैभन्दा धेरै उद्धृत भइरहेको छ।

“ब्रड पिक, म तिमीसँग केवल एउटा प्रार्थना गर्छु-मलाई सुरक्षित रूपमा शिखरसम्म पुग्न र फेरि सुरक्षित रूपमा फर्किन देऊ।”

यो प्रार्थना नै उनको अन्तिम सार्वजनिक शब्द बन्यो।

इतिहासले सम्झिरहने एउटा नाम

निर्मल पुर्जा केवल कीर्तिमान बनाउने पर्वतारोही थिएनन्। उनले संसारभर नेपाली पर्वतारोहणको नेतृत्व, क्षमता र साहसलाई नयाँ उचाइमा पुर्‍याए।

उनले बारम्बार भनेका थिए कि आफ्नो उद्देश्य केवल व्यक्तिगत सफलता होइन, मानिसहरूलाई आफ्नै जीवनका ‘हिमाल’ चढ्न प्रेरित गर्नु हो। विडम्बना, जीवनभर मृत्युलाई जित्दै आएका निम्स दाई अन्ततः फेरि एउटा ठूलो लक्ष्य बोकेर हिमालतर्फ उक्लिएका बेला ब्रोड पीकको हिमपहिरोमा परे। विश्वले धेरै पटक उनलाई हिमालबाट सकुशल फर्किएको देख्यो, तर यसपटक भने हिमालले आफ्नै वीर पुत्रलाई सधैँका लागि आफ्नो काखमा समेट्यो।

आज नेपालले केवल विश्व कीर्तिमानी पर्वतारोही मात्र गुमाएको छैन। नेपालले एउटा यस्तो व्यक्तित्व गुमाएको छ, जसले संसारलाई नेपाली पर्वतारोहीहरू केवल बाटो देखाउने होइनन्, इतिहास लेख्ने नेतृत्वकर्ता हुन् भन्ने प्रमाणित गरेका थिए। निर्मल पुर्जा ‘निम्स दाई’ अब हाम्रो बीचमा छैनन्। तर उनले संसारलाई सिकाएको एउटा कुरा भने सधैँ जीवित रहनेछ ।

Leave a Comment

Your email address will not be published. Required fields are marked *

Scroll to Top