२०८३ जेष्ठ ४,
दीक्षा राई, काठमाडौँ ।
कोशी प्रदेशको पूर्वी पहाडी क्षेत्रमा अवस्थित खोटाङ जिल्ला प्राकृतिक सौन्दर्य, धार्मिक आस्था, ऐतिहासिक महत्व तथा सांस्कृतिक विविधताले सम्पन्न जिल्ला हो। “माझ किराँत” का रूपमा परिचित यस जिल्लाको सदरमुकाम दिक्तेल बजार हो। पूर्वमा ट्याम्के र मेरुङडाँडा तथा पश्चिममा सुनकोशी नदीले घेरेको खोटाङ समुद्री सतहबाट करिब १५२ मिटरदेखि ३६२० मिटरसम्म फैलिएको छ। यो जिल्लामा हलेसी महादेवस्थान, बराह पोखरी, तुवाचुङ जायजुम, मझुवागढी र कोटगढीजस्ता महत्वपूर्ण धार्मिक तथा पर्यटकीय स्थलहरू समेटेर पर्यटन विकासको ठूलो सम्भावना बोकेको छ। टेम्के,मेरुङजस्ता डाँडाकाँडा तथा रावा, साप्सु, देखुवा र सुनकोशीजस्ता नदीहरूले जिल्लाको प्राकृतिक सौन्दर्यलाई अझ आकर्षक बनाएका छन्।
खोटाङ नामाकरणका सम्बन्धमा विभिन्न मत पाइन्छन्। इतिहासकारहरूका अनुसार चाम्लिङ राई समुदायको “खातोहोछा” पाछाबाट खोटाङ नाम रहन गएको हो भने अर्को मत अनुसार खाटेहाङ नामक किराँती राजाको शासनका कारण “खोटाङकोट” हुँदै पछि “खोटाङ” नाम प्रचलनमा आएको मानिन्छ। १५९१ वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको यो जिल्ला प्राकृतिक स्रोत, वन सम्पदा तथा जैविक विविधताले भरिपूर्ण छ। यहाँ लालिगुराँस, धुपी, सल्ला, साल, खयर लगायतका वनस्पतिहरू पाइन्छन्।
सांस्कृतिक रूपमा समेत खोटाङ निकै धनी जिल्ला मानिन्छ। यहाँ राई, क्षेत्री, ब्राह्मण, नेवार, तामाङ, शेर्पा, मगर, कामी, दमाई, सार्की लगायत विभिन्न जातजातिको बसोबास रहेको छ। उनीहरूका आफ्नै भाषा, संस्कार, संस्कृति तथा चाडपर्वले जिल्लाको सामाजिक विविधतालाई झल्काउँछ।
खोटाङ जिल्लाका प्रमुख धार्मिक तथा पर्यटकीय स्थलहरू
१. हलेसी महादेवस्थान
खोटाङको हलेसी तुवाचुङ नगरपालिकामा अवस्थित हलेसी महादेवस्थानलाई “पूर्वको पशुपतिनाथ” भनेर चिनिन्छ। हिन्दू धर्मावलम्बीहरूले यसलाई भगवान शिवको पवित्र धामका रूपमा पूजा गर्ने गर्दछन् भने बौद्ध धर्मावलम्बीहरूले गुरु पद्मसंभवले अमरत्व प्राप्त गरेको मरातिका गुफाका रूपमा मान्ने गरेका छन्। त्यस्तै किराँत समुदायले यस क्षेत्रलाई आफ्नो आदिम सांस्कृतिक भूमि मानेर श्रद्धा व्यक्त गर्ने गर्दछन्।

प्राकृतिक चट्टान, रहस्यमयी गुफा तथा गुफाभित्र रहेको शिवलिङ्ग यहाँका मुख्य आकर्षण हुन्। हरेक वर्ष हजारौँ स्वदेशी तथा विदेशी भक्तजन तथा पर्यटक यहाँ पुग्ने गर्दछन्। धार्मिक पर्यटनको दृष्टिले हलेसी खोटाङ जिल्लाको प्रमुख पहिचान बनेको छ।
२. बराह पोखरी
बराहपोखरी गाउँपालिकामा अवस्थित बराह पोखरी समुद्री सतहबाट करिब १,७०० मिटर उचाइमा रहेको मनमोहक ताल हो। प्राकृतिक सौन्दर्यले भरिएको यस पोखरीको पानी मौसमअनुसार रङ परिवर्तन हुने विशेषता रहेको बताइन्छ। साथै यहाँ पाइने रंगीन माछाहरूले पर्यटकको ध्यान आकर्षित गर्ने गर्दछन्।

शान्त वातावरण, हरियाली वन क्षेत्र तथा प्राकृतिक दृश्यावलोकनका कारण बराह पोखरी धार्मिक तथा पर्यटकीय हिसाबले महत्वपूर्ण गन्तव्यका रूपमा विकसित हुँदै गएको छ।
३. तुवाचुङ जायजुम
हलेसी क्षेत्र नजिकै रहेको तुवाचुङ जायजुम किराँत समुदायको ऐतिहासिक तथा पौराणिक स्थलका रूपमा परिचित छ। किराँत मुन्धुम अनुसार ख्याली र पाहामाले यस क्षेत्रमा धान खेतीको सुरुवात गरी मानव सभ्यताको विकास गरेको विश्वास गरिन्छ।

किराँती सभ्यता, इतिहास र संस्कृतिसँग गहिरो सम्बन्ध राख्ने यो स्थान धार्मिक तथा सांस्कृतिक अध्ययनका लागि समेत महत्वपूर्ण मानिन्छ। यहाँबाट देखिने प्राकृतिक दृश्यले पनि पर्यटकलाई आकर्षित गर्ने गर्दछ।
४. मझुवागढी
दिक्तेल बजार नजिकै रहेको मझुवागढी ऐतिहासिक महत्व बोकेको स्थल हो। बाइसे–चौबीसे राज्यकाल तथा नेपाल एकीकरणका समयमा सैनिक किल्लाका रूपमा प्रयोग भएको इतिहास यस गढीसँग जोडिएको छ।

उच्च स्थानमा अवस्थित भएकाले यहाँबाट वरपरका रमणीय पहाडी दृश्यहरू अवलोकन गर्न सकिन्छ। ऐतिहासिक महत्व र प्राकृतिक दृश्यको संगमका रूपमा मझुवागढी पर्यटकको आकर्षण बन्न थालेको छ।
५. कोटगढी
रुपाकोट मझुवागढी नगरपालिका क्षेत्रमा पर्ने कोटगढी करिब ३०० वर्ष पुरानो इतिहास बोकेको महत्वपूर्ण ऐतिहासिक स्थल हो। नेपाल एकीकरणको समयमा सैनिकहरू भेला भएर युद्धको रणनीति बनाउने स्थलका रूपमा यसको परिचय रहेको पाइन्छ।

ऐतिहासिक अवशेष तथा स्थानीय किंवदन्तीहरूले यस क्षेत्रलाई अझ रोचक बनाएका छन्। इतिहास र पुरातत्वमा रुचि राख्नेहरूका लागि कोटगढी महत्वपूर्ण गन्तव्य मानिन्छ।
६. कालिका भगवती मन्दिर
जिल्लाको प्रमुख शक्तिपीठहरूमध्ये एक हो। धार्मिक आस्था, पूजा–आराधना तथा विशेष पर्वहरूमा यहाँ भक्तजनहरूको ठूलो भीड लाग्ने गर्दछ।

तस्विर : सामाजिक सन्जाल
विशेषगरी दशैं लगायतका पर्वमा यहाँ विशेष धार्मिक गतिविधिहरू सञ्चालन हुने गर्दछन्। धार्मिक महत्वसँगै यो मन्दिर दिक्तेल बजारको प्रमुख सांस्कृतिक केन्द्रका रूपमा समेत परिचित छ।
७ . बुङालुङ (ढुङुगे बगैचा)
हलेसी नजिकैको पर्यटकीयस्थल ककनीडाँडामा ‘रक गार्डेन’ निर्माण भइरहेको छ । हलेसीबाट करिब ३० मिनेटको उकालो पैदलयात्रापछि पुगिने उक्त स्थानलाई हलेसी तुवाचुङ नगरपालिका ले आन्तरिक तथा बाह्य पर्यटकका लागि आकर्षक गन्तव्य बनाउने लक्ष्यसहित विकास गरिरहेको हो ।

‘बुङालुङ’ नामकरण गरिएको रक गार्डेनमा प्राकृतिक ढुङ्गालाई सजाउने, फूल रोप्ने, ढुङ्गे गेट र धारा बनाउने तथा कला–संस्कृति झल्कने संरचना निर्माण गर्ने काम भइरहेको नगरपालिकाले जनाएको छ ।
प्राकृतिक सौन्दर्य, धार्मिक आस्था, ऐतिहासिक महत्व तथा सांस्कृतिक विविधताको अद्भुत संगमका रूपमा रहेको खोटाङ जिल्ला पर्यटन विकासको अत्यन्त सम्भावनायुक्त जिल्ला हो। हलेसी महादेवस्थानदेखि बराह पोखरी, तुवाचुङ जायजुम, मझुवागढी र कोटगढीसम्मका सम्पदाहरूले जिल्लाको पहिचानलाई अझ समृद्ध बनाएका छन्। उचित प्रचार(प्रसार, पूर्वाधार विकास तथा संरक्षणका माध्यमबाट खोटाङलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पर्यटन गन्तव्यका रूपमा थप स्थापित गर्न सकिने सम्भावना रहेको छ।